हेटाैँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशको संकट टार्न राजनीतिक कसरतबाट सफलता मिलेको बताएका छन्। विश्वासको मत पाएपछि मुख्यमन्त्री जम्कट्टेलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रदेश सरकार जोगिनका लागि ५६ जनाको समर्थन नै काफी भएको र यसका लागि निकै कसरत गर्नु परेको बताएका हुन्।
‘मतको संख्या घट्यो भनेर आत्तिनुपर्ने स्थिती छैन। केन्द्रीय सत्ता समीरकण अनुसार प्रदेशमा गठबन्धन बन्ने हो’, उनले भने, ‘अहिले ठूलो संख्या भएको दल प्रमुख प्रतिपक्षको भूमीकामा रहनुपर्ने स्थितीका कारण यस्तो भएको। तर सरकार सुरक्षित हुन ५६ नै काफी हुन्थ्यो। त्यो जुटाउन सकियो। अब यसैलाई ठूलो कुरा मान्नुपर्छ।’ मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत जुटाउनको लागि सत्तारुढ दलहरूले निकै कसरत गर्नुपरेको बताए।
२३ फागुनमा कांग्रेस सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले सोमबार प्रदेश सभा बैठकबाट विश्वासको मत लिएका हुन्। २५ पुस २०७० मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले १५ महिनाको अवधिमा सदनबाट तीन पटक विश्वासको मत लिएका छन्। केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै प्रदेश समीकरणमा पनि फेरबदल हुने गर्दछ।
मत संख्या पुर्याउन सकसमा देखिएका मुख्यमन्त्री ले हानेपालाई सरकारमा ल्याएर भएपनि मुस्किलले ५६ मत बटुल्न सफल देखिए। उनको विपक्षमा कांग्रेसको ३७ मत रह्यो भने, नेमकिपाका ३ र राप्रपाका १२ गरी १५ सांसद तटस्थ बसे। सरकारलाई विश्वास गर्नुपर्ने स्थिती पनि नरहेको र अविश्वास पनि नरहेको कारण आफूहरु तथस्ट बसेको नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले बताए।





