पर्वतमा दम्पती हत्या : कुकुरसहितको अनुसन्धान टोली

२०८० चैत्र २०, मंगलवार

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिँडेको प्रहरीले जनाएको छ।

सोमबार राति अपरिचित व्यक्तिले एक दम्पतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। घर भित्रै ६८ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६५ वर्षीया  श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा मंगलबार बिहान ८ बजे शव भेटिएको हो। बेनी पसल गरेर बस्ने जेठो छोरा रबिन जिसीले घरमा बुवा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई घरमा बुझ्न लगाएका थिए। छिमेकीले घरको ढोकामा बाहिरबाट ताला लगाएको बताएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका फुकालेर हेर्दा बुबा आमा मृत अवस्थामा देखेको जलजला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश जिसीले बताए।

लगत्तै स्थानीय जनप्रतिनिधि र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। अहिले घटनाको अनुसन्धान र छानबिन गर्न पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको छ। घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। घरमा सूर्यबहादुर र उनका श्रीमती गमला जिसी मात्र बस्ने गरेको वडाध्यक्ष जिसीले बताए। उनले भने, ‘‘सोमबार बेलुका साढे आठ बजेको समयमा सूर्यबहादुरले फोन गर्नुभएको थियो। घर नजिकको पाखोमा डढेलो लागेको बताए। उनले पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ। मैले डढेलो निभाउन अरू मानिसहरू ल्याएर आऊ भन्दा उनले पर्दैन निभ्न लागिसकेको छ भने।’’ अहिले बिहान दुःखद घटना सुन्नु परेको वडा अध्यक्ष जिसीले बताए।

मृतक जिसीका २ छोरा वैदेशिक रोजगारीको क्रममा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन्।  ‘‘हरेक दिन बिहान आमाले बेनीमा रहेका छोराबुहारीसँग फोनमा कुराकानी गर्नुहुँदो रहेछ। आज बिहान आमाको फोन आएनछ। छोराबुहारीले फोन गर्दा पनि उठेनछ,’ वडाध्यक्ष जिसीले भने ‘‘फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत अवस्थामा देखेका रहेछन्।’’

प्रहरी नायब उपरीक्षक भुसालले भने, ‘‘घटनास्थलमा प्रहरीको नियन्त्रणमा छ। हत्याको घटना हेर्दा रहस्यमय देखिन्छ। घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले आवश्यक अनुसन्धानलाई अगाडि बढाउन विशेषज्ञ सहितको टोली बोलाएका छौँ।’’ अहिलेसम्म हत्याको कारण भने खुलेको छैन। अहिले घटनाको प्रारम्भिक अनुसन्धान थालेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार