वीरगन्ज : बारा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ। उक्त गिरोहले दैनिक सरदर २ करोडको कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले सोमबार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४, मुसहर्वाबाट हुण्डी गिरोहका २ जना नाइकेलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो। पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का हरिकिशोर प्रसाद पटेल र बाराको महागढी नगरपालिका वडा नम्बर १ बस्ने रमेश कुश्वहालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।
प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।बारा प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका दुवै जना अभियुक्त ठुलो रकममा कारोबार गरिरहेका नाइके रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।उनीहरूको साथबाट बरामद मोबाइल तथा ल्यापटपसहितका विद्युतीय सामग्रीको ‘डाटा’ विश्लेषण गर्दा पहिलो फेजमा करिब २ करोडसम्म रुपैयाँको दिनहुँ कारोेबार भएको पाइएको प्रहरी स्रोतले जनाएको छ।
यसरी गरिन्थ्यो हुण्डी कारोबार
स्रोतका अनुसार पक्राउ परेका महतोले मलेसियामा रहेका आफ्नो दाइ राकेश कुश्वाहामार्फत त्यहाँबाट कलेक्सन गरिएको हुण्डी रकम भारतबाट उठाएर नेपाल ल्याउने गरेका थिए । त्यही क्रममा सोमबार भारतबाट हुण्डीकै पैसा उठाएर नेपाल ल्याउँदा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। बारा प्रहरीले उनीहरूको साथबाट प्रदेशको २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।





