काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी (इन्टर्न) राख्न कार्यविधि बनाएको विषयमा जवाफ दिएकी छन्। उनले बुधबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै विद्यार्थीहरूले राजनीति मात्रै सिक्ने हो त भनेर प्रश्न समेत गरेका छन्।
‘के विद्यार्थीले राजनीति मात्रै सिक्ने त? के यो देशको सरकारी कार्यालय कसरी चल्छ, कसरी प्रभाव पार्न सकिन्छ भनेर सिक्न पर्दैन?,’ उनले प्रश्न गरेकी छन्, ‘हाम्रो देशमा नेता मात्रै चाहिएको हो र? कि अब्बल कर्मचारी चाहिएको छ?, नीति निर्माणकर्ता पनि चाहिएको हो।’
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले निजामती कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थी ल्याउने निर्णय गरेको भन्दै प्रश्न गरेका थिए। उनले यसरी प्रशिक्षार्थी आउँदा निजामती कर्मचारीहरूमाथि असर पर्ने धारणा राखेका थिए।
त्यस विषयमा जवाफ दिँदै मन्त्री श्रेष्ठले काम गर्न सिकाउनका लागि यो कार्यविधि ल्याइएको जानकारी दिइन्। आवश्यकता र विद्यार्थीको रूची अनुसार सिमित संख्यामा, राज्यलाई आर्थिक भार नपर्ने गरी, गोप्य सूचनामा पहुँच नहुने गरी र कर्मचारीकै मातहत रहनेगरी उक्त कार्यविधि बनाइएको उनले बताइन्।
‘श्रमसँग शिक्षा जोडिएन पनि भन्नुहुन्छ, बेरोजगारको कारखाना भयो पनि भन्नुहुन्छ। विमानस्थलमा युवाको लर्को देखेर दुखेसो पोख्नुहुन्छ हैन त? हो भने इन्टर्नसिप किन नगराउने, काम गर्न किन नसिकाउने भनेर पनि प्रश्न गरेकी हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गर्न खोजिएको त्यही नै हो। काम गर्न सिकाउने हो,’ उनले भनिन्।





