डोटी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज चैत २२ गते विश्वासको मत लिने भएका छन् । उनले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन्। लगत्तै प्रदेशसभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए। केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ। त्यसअनुसार मुख्यमन्त्री शाहले सूचना दिएका हुन् । तर उहाँसँग अझै बहुमत छैन। प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ।
मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ५ सांसदलाई मन्त्री बनाएका छन् । तर, सरकारलाई समर्थन गर्ने/नगर्नेबारे नाउपामा चर्को विवाद छ। सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् । नाउपाको समर्थनका बाबजुद शाहलाई बहुमत पुग्दैन । उनले एक सांसद भएको राप्रपा र स्वतन्त्र सांसद तारा जोशीलाई मन्त्री बनाउने प्रयास गरेका थिए। तर, राप्रपाले समर्थनको निर्णय नगरेपछि जोशी पनि रोकिएका छन्। एकीकृत समाजवादीका पूर्वनेता समेत रहेका जोशीलाई एमाले–माओवादी गठबन्धनले पनि फकाइरहेको छ।
गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्। त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ।





