जुम्ला : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जुम्लाका हरेक नागरिकलाई आफूले करोडपति बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
बिहीबार ‘नागरिक बचाउ महाअभियान कार्यक्रम’ लाई सम्बोधन गर्न हवाई मार्फत जुम्ला सदरमुकाम आइपुगेका उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। खलंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘विकासका हिसाबले जुम्ला प्रचुर सम्भावना भएको जिल्लको हो। यदि मैले चाहेँ भने सबै जिल्लावासीहरू जीवनस्तर करोडपतिको जस्तो बनाउन सक्छु। म लामाे समय धेरै विकसित राष्ट्रहरुमा बसेको छु। त्यहाँको जस्तै विकासको सम्भावना मैले जुल्लामा पनि देखेको छु।’
उनले आफ्नै कारणले जुम्लामा करोडौँ रकम भित्रिएको दाबी गरे। मार्सी चामलको बिक्रीबाट करोडौँ रकम भित्र्याएको र आफ्नै कारणले बिक्री बढेको उनकाे जिकिर थियाे। कार्यक्रममा उनले डाक्टर गोविन्द केसी प्रति पनि कटाक्ष गरे। ‘कसैलाई निःशुल्क मेडिकल शिक्षा पढाउन मन छ भने आफैले धर जग्गा धितो राखेर पढाए हुन्छ नि,’ भन्दै उनले डा. केसीमाथि प्रहार गरेका हुन्। आफूसँग पाँच अर्बको सम्पत्ति रहेको भन्दै उनले सरकारले मागेको खण्डमा सरकारकै नाममा दिन समेत आफू तयार रहेको उल्लेख गरे।
साथै प्रसाईंले जुम्ला देखि नेपालगन्जको बाटो ६ लनेको बनाउने आफूले परिकल्पनका गरेको सुनाए। उनले भने ‘नेपालगन्ज जुम्ला ‘सिक्स लेन’ को परिकल्पना गरेको छु। जसले जुम्ला नेपालगन्जको बाटो दूरी २ घण्टाको बनाउँछ।’ उनले मिटरब्याज, लघुवित्त, सहकारी, बैंकपीडित नागरिकमाथि ज्यादती नियन्त्रण गर्ने गर्नुपर्नेमा पनि जोड दिए।





