दुई स्वर्गीय नेताहरूको विरासत पुत्रहरूका लागि चुनौती

२०८० चैत्र २३, शुक्रबार

काठमाडौं : उपनिर्वाचनको सरगर्मी बढेको छ । उपचुनावको मिति नजिकिएसँगै चुनावी माहोल गर्माएको हो । चुनावमा भाग लिन दलहरूले उम्मेदवार टुंग्याएसँगै चुनावी चहलपहल बढेको छ । वैशाख १५ गते इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङमा एक प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदै छ ।

उपचुनावको रोचक पक्ष के छ भने दुवै क्षेत्रमा दिवंगत नेताका छोरा उम्मेदवार बनेका छन् । इलाममा एमालेका हाल दिवंगत नेता सुभासका छोरा सुहाङ उम्मेदवार बनेका छन् । नेम्वाङको निधनपछि इलाम-२ मा उपचुनाव हुन लागेको हो । २४ वर्षदेखिको एमालेको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ । इलाम-२ विगत साढे दुई दशकदेखि एमालेले जितिरहेको क्षेत्र हो । इलाम २ मा २०५६ सालदेखि एमाले नेता सुवास नेम्वाङले जित्दै आएका थिए । २०५६ सालको आमचुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आमचुनाव हुँदै २०७९ मंसिरको आमचुनाव पनि सुवासले निरन्तर जितेका थिए । सुहाङको मुख्य चुनौती भनेको बुवा (सुवास)को विरासत जोगाउनु हो ।

यस्तै, बझाङ प्रदेशसभा उपचुनावमा पनि कांग्रेसका हाल दिवंगत नेता पृथ्वीबहादुर सिंहका छोरा अभिषेक उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले सिंहलाई उम्मेदवार बनाउने भएको छ । पृथ्वी बहादुरको सडक दुर्घटनामा मृत्यु भएपछि बझाङमा उपचुनाव हुन लागेको हो । अभिषेक गत वर्षको स्थानीय तहको चुनावमा वडाध्यक्षमा हारेका थिए । अब भने उनलाई गत चुनावमा बुवाले जितेको क्षेत्रमा उन को विरासत जोगाउने चुनौती छ । बझाङ प्रदेश सभामा एमालेले दमन भण्डारी र नेकपा एसले दलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएका छन् । बझाङमा जसपाले रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार