काठमाडौँ : काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ। चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ।
विशेष गरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रूपमा मनाउने गर्दछन् । जात्रामा विशेष गरी विवाह भएर गएकी छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन कायमै छ । आजको दिन काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ।
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्दैछ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र मन्त्रिले सेनाको अश्वकला अवलोकन गर्ने चलन पनि छ ।





