श्रीमतीको हत्या गरेर फरार रावत १७ वर्षपछि पक्राउ

२०८० चैत्र २६, सोमबार

सुर्खेत : आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक जना पुरुष १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको सानो सुर्खेत (साविक लाटीकोइली गाविस–५) का रामबहादुर रावत छन् ।

प्रहरीका अनुसार रावतले ०६३ साल असार ९ गते घरमा आफ्नै श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि उनी भागेका थिए। १७ वर्षपछि उनलाई जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए। उनका अनुसार रामबहादुर जुनीचाँदे गाउँपालिका–१, काप्रा भन्ने ठाउँमा घर बनाइ बसेका थिए ।

घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेका थिए । प्रहरीका अनुसार रामबहादुरले ६६ वर्षको उमेरमा २८ वर्षीय महिलासँग विवाह गरेका थिए । जुनीचाँदे रामबहादुरको पुर्ख्यौली थलो हो । गौरीको हत्या गर्दा रामबहादुर ५६ वर्षका थिए । प्रहरी निरीक्षक खड्काका अनुसार रामबहादुरले गौरीको हत्या गरी गोठमा शव फालेर भागेका थिए ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार