धरान : धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदैछ। महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ।
हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ। जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ।
कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ।
कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ । मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ। मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ।
भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ।





