काठमाडौँ : नेपाली सचेतक सुशीला थिङले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब गोर्खा मिडिया कम्पनीमा लगेको र सो रकम लान पाउँछ कि पाउँदैन, सो काम गर्नेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् ।
उनले गोरखा मिडिया प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेकी थिइन् । थिङले भनिन–‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ?’
उनले नेपाली कांग्रेसको संसदीय दलको बैठकको निर्णय समेत बैठकमा वाचन गरेर सुनाइन । उनले विगतका दिनदेखि संसद्मा ध्यानाकर्षण गराउँदा पनि संसदीय छानबिन समिति नबनाएको भन्दै बैठक अवरोध गर्ने बताइन् ।





