काठमाडौँ : चीनसँग निकट सम्बन्ध राख्ने राष्ट्रपति मोहमद मुइजुको पार्टीले माल्दिभ्सको संसदमा दुई तिहाइ सिट जितेको छ। यसले सत्तामा मुइजुको पकडलाई झनै बलियो बनाएको छ।
प्रारम्भिक नतिजाअनुसार उनको पिपुल्स नेसनल कंग्रेस पार्टीले ९३ मध्ये ६६ सिट जित्ने देखिएको छ। चीनसँग निकट मानिने मुइजुले मुलुकमा रहेको भारतीय प्रभाव कम गर्न कोसिस गरिरहेका छन्। यो जितलाई नागिरकद्वारा उनको नीतिको अनुमोदनका रुपमा पनि हेरिएको छ।
प्रमुख विपक्षी एमडीपीले १५ सिट मात्र जितेको छ। आइतबारको चुनावअघिसम्म संसदमा सो पार्टीको बहुमत थियो। ‘मुइजुका लागि यो गतिलो उपलब्धि हो,’ युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका लेक्चरर अजिम जाहिर भन्छन्, ‘राजनीतिक संस्थाका हिसाबले हेर्दा अब हरेक चिज मुइजुको नियन्त्रणमा हुन्छ। पर्याप्त सांसद भएकाले उनले सिद्धान्ततः न्यायपालिका पनि नियन्त्रण गर्न सक्छ।’
मुइजुले गतवर्ष ‘इन्डिया आउट’ अभियान चलाएर राष्ट्रपतिको चुनाव जितेका थिए। त्यसअघिका राष्ट्रपतिले ‘इन्डिया फस्ट’ नीति अख्तियार गरेको थियो।
भारतको प्रभाव कम गर्न माल्दिभ्समा रहेका भारतीय सैनिक पनि उनले फिर्ता गराएका छन्। करिब ८५ भारतीय सैनिक दुई हेलिकोप्टर र एउटा विमान चलाउन भन्दै माल्दिभ्समा बसेका थिए।
सो विमान भारतले नै दिएको थियो। तीमध्ये दुई चरणमा भारतीय सैनिकहरु फिर्ता भइसकेका छन्।तिनको ठाउँमा भारतकै गैरसैनिक प्राविधिकहरुले लिएका छन्।
चुनाव मालदिभ्सका राष्ट्रपतिको, भिडन्त भारत र चीनको यसबीचमा भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता देखिएको छ। जनवरीमा मुइजु चीन भ्रमणमा जाँदा उनले बेइजिङसँग अनेकौँ सम्झौतामा हस्ताक्षर गरेका थिए।
मार्चमा दुई देशबीच सैन्य सम्झौता पनि भएको छ।





