बुटवल : सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका दीपेशलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सीआईबीको जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश शुक्रबार थुनामुक्त भएका थिए । सहकारी ठगी प्रकरणमा अदालतले तोकेको चार लाख रुपैयाँ उनले बझाएका हुन् । तर सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकाले उनी पक्राउ परेका छन् ।
अदालतले सहकारीका अध्यक्ष ओम गुरुङलाई पुर्पक्षका लागि थुनामा र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । दीपेशसँग ४ लाख, नवीन अछामीसँग १० लाख, लीला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, नीता थापा मगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख धरौटीको माग गरिएको थियो ।





