
काठमाडौं : सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी अर्थात् २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको भन्दै राष्ट्र बैंकले सम्मानित गरेको हो । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ । ग्लोबल आईएमई बैंकले हाल ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।