काठमाडौं : नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन महत्वपूर्ण विधामा सम्मान प्राप्त गरेको छ।
बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ तथा ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि हासिल गरेको जनाएको छ।
बैंकका अनुसार यी अवार्डहरूले नबिल बैंकको वित्तीय सुदृढता, डिजिटल बैंकिङमा नेतृत्व, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी पहलका साथै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा पुर्याएको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएका हुन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सम्मानले ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारले बैंकमाथि राखेको विश्वासको प्रतिफल भएको बताए। उनका अनुसार यी अवार्डहरूले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएका छन्।
युरोमनी अवार्ड्स फर एक्सिलेन्सलाई विश्व बैंकिङ क्षेत्रकै प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। यसमार्फत नवप्रवर्तन, नेतृत्व क्षमता र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न मुलुकका बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिन्छ। बैंकका अनुसार ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित सेवा, डिजिटल रूपान्तरण र समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको छ।
त्यसैगरी, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, जिम्मेवार बैंकिङ, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको कार्यको मूल्यांकन गरेको जनाएको छ। यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमलाई लक्षित कर्जा, वित्तीय सेवा र परामर्शमार्फत उद्यमशीलता तथा आर्थिक गतिविधि विस्तारमा बैंकले खेलेको भूमिकालाई सम्मान गरेको बैंकको भनाइ छ।
नबिल बैंकले विगत केही वर्षदेखि डिजिटल बैंकिङ, दिगो बैंकिङ अभ्यास र वित्तीय समावेशीकरणमा निरन्तर लगानी गर्दै आएको जनाएको छ। हाल बैंकले देशभर २६४ शाखा र ३१५ एटिएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत समावेशी र दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ बैंकले आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।





