काठमाडौं : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फुटेको छ ।
गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता भंगको भएको हो ।
रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य समरजंगले अब सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुन आवश्यक रहेको बताए । उनले अध्यक्ष वैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पंगु बनाइएको आरोप लगाए ।
उनले आन्दोलनका उपलब्धिहरुको रक्षा, समीक्षा र सच्चा क्रान्तिकारीहरुसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा नरहेको बताए । पार्टी विभाजनको पक्षमा समरजंगसहित विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्टलगायत रहेका छन् ।