
काठमाडाैँ : संघीय संसदको पाँचौँ ठुलो दल राप्रपाले उपनिर्वाचनमा कमजोर नतिजा ल्याएको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा जमानत गुमाएको राप्रपाले दुई क्षेत्रमा गरेर जम्मा ६४६ मतमात्रै पाएको छ ।
राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको थियो भने उनले ४०४ मत पाए ।
यस्तै बझाङमा किशोर कुमार खड्का उम्मेदवार बन्दा उनले २४२ मत मात्रै पाए । गत वर्षको वैशाखमा भएको उपनिर्वाचनमा पनि राप्रपाको कमजोर मत आएको थियो ।
उपनिर्वाचनमै इलाम २ मा उम्मेदवार खडा गरेको राप्रपा नेपालले पनि जम्मा ४३ मत पायो । राप्रपा र राप्रपा नेपालले हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोक्दै आएका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन र राप्रपा नेपालको अध्यक्षमा कमल थापा छन् ।