काठमाडौँ : नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन्। इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उपमहासचिव रिमालले कोसी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क समेत गरे।
‘पहिलो कुरा त एमालेको शक्ति क्षय भएको छ कि छैन? भनेर मान्छेले क्वेशन गर्थे। इलाम हामीले जितेको ठाउँ हो। र बझाङ हामीले हारेको ठाउँ हो। दुवै ठाउँमा जित्नुको अर्थ के हो भने इलाममा कम्तिमा पनि हामी जहाँको त्यहीँ छौं भन्ने बुझिनै हालियो,’ रिमालले भने, ‘त्यसमाथि बझाङमा हामीले नयाँ प्राप्त ग¥यांै। त्यो हिसावले एमालेको शक्ति वृद्धि भएको त्यसले बुझाउँछ। इलामकै सन्दर्भमा पनि पहिलाको तुलनामा भोटको मार्जिन जुन बढेको छ। त्यसले पपुलर सर्पोट एमालेका पक्षमा छ भन्ने बझाउँछ।’
कोसी प्रदेशको नामाकरण गलत भन्नेहरु, त्यस सन्दर्भमा चपाएर बोल्नेहरु उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उनको भनाइ थियो।
‘कुन एजेण्डामा दलहरु चुनाव लड्दैछन्? त्यसको आधारमा चाहीँ भोट हाल्ने वा नहाल्ने भन्ने अधिकार जनतालाई हुनुपर्छ भन्दै आयो। विगत केही समयदेखि चाहीँ दलहरुको सिन्डीकेट खडा गरेर हामी त बलियो भयौ है भन्दै जनतालाई एक किसिमले बन्धक बनाउने तरिकाले मतलाई दिग्भ्रमित गर्ने काम भइरहेको थियो,’ रिमालले भने।