दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र

२०८१ बैशाख १८, मंगलवार

तनहुँ : राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएको छ । करिब सात महिना पहिले २०७६ देखि भरिएको राष्ट्रिय परिचयपत्र आए पनि मानिस लिन नआउँदा राष्ट्रिय परिचयपत्र दराजमै थन्किएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयमा १५ हजार थान राष्ट्रिय परिचयपत्र आए पनि हालसम्म जम्मा एक हजार तीन सय २५ जनाले मात्रै लगेको राष्ट्रिय परिचयपत्र शाखाका कम्युटर अपरेटर प्रताप पण्डितले बताए । परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने उनिले सुनाए ।

परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुने पण्डितले बताए । ‘‘राष्ट्रिय परिचय पत्र लिन आउन पनि स्वयं व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ’’, कम्युटर अपरेटर पण्डितले भने , ‘‘२०७६ सालदेखि फारम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएर बसेको होला भन्ने हाम्रो बुझाइ छ ।’’

वैशाख दोस्रो साता मात्रै करिब ४० हजार थान राष्ट्रिय परिचयपत्र आइसकेको र केही दिनमा त्यो रुजु गरेर मात्रै सम्बन्धित व्यक्तिलाई प्रदान गरिने योजना रहेको दर्ता सहयोगी जमुना श्रेष्ठले जानकारी दिए । राष्ट्रिय परिचयपत्र फारम भर्न र लिनकै लागि दैनिक दुई जना कर्मचारी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

बिहान १० बजेदेखि कार्यालय समयसम्म राष्ट्रिय परिचयपत्र फारम भर्ने र आएका परिचयपत्र लिने व्यवस्था गरिएको सहायक प्रजिअ भण्डारीले बताए । ‘‘हामीले राष्ट्रिय परिचयपत्र भर्न र लैजान सजिलो होस् भनेर कर्मचारी कार्यालय समयमा खटाउने गरेका छौंँ’’, सहायक प्रजिअ भण्डारीले भने , ‘‘तर आएको परिचयपत्र लैजाने युवा नै यहाँ नभएकोले गर्दा दराजमा नै थन्किएको हुनसक्छ । आफ्नो परिचयपत्र रुजु गरेर लैजान सबैमा अनुरोध गर्दछौँ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार