काठमाडौं : २०७६ माघमा आएको चिनियाँ प्राविधिक टोलीले पहिलोपटक अध्ययन गरेको टोखा छहरे सुरुङ मार्गको काम अर्थमन्त्रीबाट कांग्रेस नेता एवं सांसद प्रकाशशरण महत हटेसंगै काम नै बन्द भएको छ । तत्कालिन समयमा २० जनाको चिनियाँ टोलीले करिब एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेर फर्केपछि सुरुङ मार्गको चर्चा भएको थियो ।
चीनबाट सामान लिएर आउन गल्छीबाट पृथ्वी राजमार्ग–थानकोट हुँदै काठमाडौं छिर्नुभन्दा टोखाबाट धेरै नजिक पर्ने भएकोले सडकको दूरी छोट्याउन सुरुङ बनाउनने भनेर योजना अगि सारेपछि यसले चर्चा पाएको थियो ।
भारतले लगाएको नाकाबन्दीले नेपालको व्यापार चीनतिर पल्टिएसंगै काठमाडौंबाट चीन जोड्ने विभिन्न राजमार्गहरुको मर्मत सम्भार र स्तरोन्तरी गर्न थालिएको थिायो भने सोहि परियोजना अन्तर्गत गल्छि देखि नुवाकोट तर्फको सडक चौडा कार्य अन्तिम चरणमा पुगेको छ ।
कांग्रेस सांसद समेत रहेका महत अर्थमन्त्री हुँदा यहि आर्थिक वर्षमा सुरुङ खन्न सुरु गर्ने भन्दै १ अर्ब बजेट छुट्याएर सडक विभागलाई काम गर्न दबाब दिएका थिए भने कामले समेत तिब्रता पाएको थियो । तर उनी मन्त्रिबाट हटेसंगै सुरुङ मार्गको काम ढप्प जस्तै भएको छ ।
सरकारले पनि चीनसंगको नाका भन्दा भारतिरकै नाका प्राथमिकतामा राखेर काम गर्नाले काठमाडौंबाट चीन जोड्ने छोटो सडक मार्ग रहेको टोखा छहरे खण्डमा सुरुङ खन्ने काम अलपत्र परेको छहरेका स्थानियहरु बताउँछन् ।
सुरुङ मार्ग खन्नको लागि पहिले गर्नुपर्ने सम्भाव्यता अध्ययन, ईआईएका लागि डीपीआर गरेर सुरुङ कस्तो बन्ने, कति लम्बाइ, चौडाइ, कस्तो ढुंगा, माटो कस्तो, रूख कति काट्नुपर्ने हो, कति घर प्रभावित हुन्छन् भन्ने लगाएतका कामहरु नै अगाडि बढ्न नसकेपछि महतले सुरुङ खन्न छुट्याएको १ अर्ब रुपैयाँ नै अन्य आयोजनाको लागि रकमान्तर गरेर पठाएको सडक विभागले जनाएको छ । यससगै सुरुङ मार्गको काम थप अन्योलमा परेको छ ।





