काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ ।
वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् ।
यसलाई पनि कारण देखाउँदै तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।
रावललाई खबरहबले सोडारीलाई समर्थन गर्नुभयो, तर विश्वासको मत दिनु भएन भनेर सोधेको थियो, ‘हाम्रो साथी बुवा स्वर्गीय भएर किरिया गरिरहनु भएको छ । हामीले त १ सिट थपिदिएका छौँ । तर विश्वासको मत लिन उहाँहरू हतार गर्नुहुन्छ ।’
उनका अनुसार भण्डारीको शपथ ग्रहणपछि मात्रै सोडारीलाई एमालेले विश्वासको मत दिने तयारी गरेको छ । वैशाख १५ को उपनिर्वाचनमा विजयी भण्डारी २५ गते बुवाको काजकिरिया सकेर त्यही दिन नभए २६ गते मात्रै धनगढी आउने कार्यक्रम छ । त्यसपछि भण्डारीले सांसद पदको शपथ ग्रहण गर्नेछन् ।
नेता रावलले आफूहरूसँग छलफल नगरी सोडारीले विश्वासको मत लिन लागेपछि गठबन्धनमा हलचल पैदा भए जस्तो देखिएको बताए ।उनले भने, ‘हामीले प्रदेश सभा सदस्य बढाएर नै विश्वासको मत दिन लागेका हौँ। साथीहरूले हतार गरेर हुँदैन ।’
यता सोडारी पनि आफूहरूलाई एमालेलेबाट असहयोग गरेजजस्तो नभएको बताए । उनले भने, ‘हामी छलफलमा छौँ । सबैले सहयोग गर्नुभएको छ ।’ बझाङ प्रदेश सभा १ मा मा निर्वाचन जितेपछि अहिले एमालेको सिट सुदूरपश्चिममा ११ पुगेको छ ।





