कालीकोटमा बोलेरो जीप दुर्घटना, १२ जना घाइते

२०८१ बैशाख २८, शुक्रबार

कालीकोट : सुर्खेतबाट कालीकोटको घाटाचौर जाँदै गरेको (ग) ३ (च) ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको छ । गएराती ९ बजे १२ जना यात्रु लिएर घाटाचौर जाने क्रममा बोलेरो पचालझरना गाउँपालिका–८ को सिजाबगरमा दुर्घटना भएको हो ।

सान्नीत्रिवेणी गाउँपालिका–३ मानेगडाबाट थप यात्रु बोकेर पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने ६ जना गम्भीर घाइते भएका छन् । जीप दुर्घटनामा रास्कोट नगरपालिका-६ का २२ वर्षीय दिनेश फर्साल चालक र सहचालक गरी १२ जना घाइते भएका हुन् । सुर्खेतबाट यात्रु लिएर आएको जीप कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिकाको सिजाबगरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी पोषण थापाले बताए ।

उनले भने, ‘दुर्घटनामा परी घाइते हुनेमा पलाँता गाउँपालिका–२ निवासी १८ वर्षीय पारस कामी, ७० वर्षीय जयमल कामी, पलाँता-६ निवासी ७० वर्षीया एैमन बिक, ३४ वर्षीया लालभक्त बिक रहेका छन् । यसैगरी पलाँता गाउँपालिका-६ निवासी २५ वर्षीय पुष्कर बिक, ६१ वर्षीय लाल बिक, २५ वर्षीया लक्ष्मी बिक, २० वर्षीय जनराज बिक र सोही गाउँका २१ वर्षीय राजन बिक, ३० वर्षीय धनराम बिक रहेका छन् ।

रास्कोट-६ निवासी २२ वर्षीय चालक दिनेश फर्साल र अठार वर्षीया सहचालक रमेश फर्शाल पनि घाइते भएका छन् । जिल्ला अस्पताल कालीकोटले गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ । जीप सडकबाट करिव १०० मिटर तल भीरमा खसेको छ । दुर्घटना के कसरी भएको भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार