कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’

२०८१ बैशाख २९, शनिबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसमिति बैठकले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख र सरकारले गृहमन्त्रीलाई संसद्‌मा बोल्न अवरोध गरेको निष्कर्ष निकालेको छ । शनिबार पार्टी सभापति देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र सरकारको रवैयाका कारण गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न नपाएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताएका हुन् ।

उनले भने– ‘हिजो हामीले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भनेर दलगत रूपमा निर्णय गरेर सभामुखलाई पनि भनेका थियौँ । हामी बोल्न दिने भएका थियौँ तर सभामुखले उहाँलाई बोल्न नदिने रणनीति तयार गर्नुभयो । उहाँहरूले जबरजस्ती सरकारी बिजनेसमा प्रवेश गर्ने प्रयास गरेको हुनाले हिजो हाउस अवरुद्धको स्थिति बन्यो । सरकार र सभामुखको मिलेमतोमा हाउस अवरुद्ध हुने स्थिति बनेको ठहर गर्र्यौँ ।’

उनले सभामुख देवराज घिमिरे सभामुखको रूपमा भन्दा पनि एमाले नेताको रूपमा प्रस्तुत भएको उनले आरोप लगाए । तर शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न अवरोध गरेको थियो । उनले सरकारले संसद्‌मा पेश गर्ने कुनै पनि कार्यक्रममा कांग्रेसले अवरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

यता, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति नबन्दासम्म सरकारसँग सम्बन्धित बिजनेसमा प्रवेश नगर्ने र आगामी संसद्‌मा कांग्रेसको भूमिकाबारे रणनीति तय गर्न फेरि कांग्रेस संसदीय दलको बैठक बस्ने जानकारी दिए । लेखकले भने– ‘हामी कार्यसूचीमै प्रवेश गर्न दिँदैनौँ । पर्सी हामी संसदीय दलको बैठक बस्छौँ, संसदीय दलको बैठकबाट आगामी रणनीतिबारे निर्णय गर्छौं ।’

यता कांग्रेस महामन्त्री गगन थापाले आजको बैठकमा कांग्रेसको अडान परिवर्तन गर्ने विषयमा भन्दा पनि आफ्नो आवाज कसरी व्यक्त गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । आजको बैठक संसद्‌मा अब कसरी प्रस्तुत हुनेबारे केन्द्रित रहेको उनले बताए । अब बस्ने पार्टीको संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय लिने उनको भनाई थियो ।

त्यस्तै, संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री गम्भीर नबनेकोमा आफूहरू छक्क परेको उनको भनाई थियो ।

‘प्रधानमन्त्रीले संसद्को अवरोध हटाउन किन पहल गरिराख्नुभएको छैन भन्ने विषयमा नै हाम्रो छलफल केन्द्रित रह्यो । गृहमन्त्रीले त चार वर्ष संसद् नचले नचलोस् भनेर भनिसक्नुभयो । एमाले अध्यक्ष केपी ओलीलाई पनि संसद् चल्ने कुरा, सरकारलाई अप्ठ्यारो परेको कुरा केही सजिलो होस् भन्ने कुराको कुनै चिन्ता देखिएन । यसमा सबैभन्दा बढी चिन्ता प्रधानमन्त्रीलाई पर्ने हो तर उहाँको ध्यान पुगिरहेको छैन’ थापाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार