सल्यानमा श्रीमतीको हत्यापछि आत्महत्या

२०८१ बैशाख ३०, आईतवार

सल्यान : सल्यानमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ देउलीका अन्दाजी वर्ष ३५ का मनोज बुढाले अन्दाजी वर्ष ३२ की श्रीमती कमला बुढाको हत्यापश्चात् घर नजिकै झुन्डिएर आत्महत्या गरेका छन् ।

घटनास्थलमा प्रहरी टोली पुगेको र चारैतिरबाट घटनास्थल सुरक्षित गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए । उनका अनुसार मनोजले श्रीमतीको हत्या गरेपछि डरले बच्चाबच्चा भागेका थिए । त्यसपछि हत्याको घटनाका बाहिर आएको प्रनाउ कार्कीले बताए ।

मनोजले पहिला हतौडाले श्रीमती कमलालाई टाउकोमा प्रहार गरेका थिए । त्यसपछि शरीरमा बन्चरो प्रहार गरी हत्या गरेका थिए ।’ श्रीमतीको हत्या गरेका बुढाले घरपछाडिको बलोमा झुन्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । अनुसन्धानपश्चात् दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइने उनले बताए ।

वडाध्यक्ष पुष्कर बुढाथोकीले सल्लीबजारबाट करिब १५ किलोमिटर टाढा पर्ने देउलीका मनोज बुढालाई केही महिनादेखि मानसिक समस्या देखिएको भन्ने सुनिएको र सोही कारण उनले श्रीमतीको हत्या गरी आत्महत्या गरेको हुनसक्ने बताए । उनका तीन साना बच्चा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार