अब हुन्डाईको गाडी उत्पादन नेपालमै

२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ : मुलुकमा सवारी साधनको व्यावसायिक उत्पादन सुरु भएको छ। व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुन्डाईका गाडी उत्पादन सुरु गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राममा हुन्डाईको एसेम्बलिङ प्लान्टको उद्घाटन गरे। कम्पनीले यो प्लान्टबाट हुन्डाइका विभिन्न भेन्यु गाडी उत्पादन गर्ने जनाएको छ।

नवलपरासी रामग्राम–६ मा रहेको एसेम्बलिङ प्लान्टमा प्रधानमन्त्री दाहालले हुन्डाईको एसेम्बल्ड गाडी चढे। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए।

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे। ‘औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त हुन्छ,’ दाहालले भने।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारी साधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ थियो।

नेपालमा हुन्डाईका सवारीको आधिकारिक बिक्रेता लक्ष्मी समूहले एसेम्बलिङ प्लान्ट स्थापना गरेको हो। लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ। नेपालमै प्लान्ट स्थापना भएपछि सस्तोमा गाडी पाउने विश्वास लिइएको छ।

करिब डेढ खर्ब रूपैयाँमा स्थापना गरिएको प्लान्ट करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ। एसेम्बलिङ प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्ने लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले बताए।

बजारको माग अनुसार सवारी साधन उत्पादन गर्ने उनले बताए। प्लान्टबाट एक सयभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। कोरियन प्राविधिक टिमले यहीं बसेर एसेम्बलिङ प्लान्टमा काम गरिरहेको छ। कम्पनीका अनुसार ग्राहकको रुचि र बजारको माग अनुसार भेन्युका गाडीहरू उत्पादन हुनेछन्। एसेम्बल प्लान्टमा गाडी तथा मोटरसाइकल उत्पादन हुनेछन्।

कम्पनीका आधा दर्जन एसेम्बल प्लान्टहरू सञ्चालनमा आइसकेका छन्। कम्पनीले पार्टपुर्जा आयात गरी गाडी तथा मोटरसाइकल एसेम्बल गर्दै आएको छ। कम्पनीले दुई पांग्रेअन्तर्गत विभिन्न सात ब्रान्डका सवारी साधन एसेम्बल गर्न प्लान्ट विस्तार गर्ने छ। जसमा हिरो, बजाज, सुजुकी, यामाहा, रोयल इन्फिल्ड, टिभिएस र होन्डा बाइक तथा स्कुटरसमेत उत्पादन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार