बत्तीसपुतली हत्या प्रकरणः ठोक्किएको निहुँमा चक्कु हानि हत्या

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : काठमाडौंको बत्तिसपुतलीमा भएको हत्या घटना सामान्य विवादमा भएको खुलेको छ। काठमाडौं महानगरपालिकाको बत्तिसपुतलीस्थित कुमारी मन्दिर जाने गल्लीमा शनिबार राति करिब साढे ७ बजेतिर दुई पक्षबीच झडप भएको थियो। झडप हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

मृतक मोरङ घर भई विजयचोक क्षेत्रमा बस्ने २४ वर्षीय शम्भु धिमाल छन्। उनीसँगै रहेका सोही ठाउँमा बस्ने २३ वर्षीय मनिष चौधरी घाइते छन्। प्रहरीले यस घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाका प्रमुख केशव थेबेका अनुसार पक्राउ परेका चारै जना नाबालक छन्। उनीहरूले आफूहरू नाबालक रहेको दाबी गरेका छन्। जसबारे प्रहरीले भेरिफाइ गर्ने काम गरिरहेको छ।

चार जनाको समूह गएराति बाटोमा हिँडिरहेको थियो। विपरीत दिशाबाट शम्भु र मनिष हिँडिरहेका थिए। त्यसबीच उनीहरू एकआपसमा ठोक्किएका थिए। ‘सामान्य निहुँमा उनीहरूबीच विवाद भएर झडप भयो,’ डिएसपी थेबेले भने। चार जनाको समूहमा रहेका तीन जनाले मादक पदार्थ सेवन गरेका थिए। उनीहरू चारै जना तीलगंगा क्षेत्रमा बस्थे। राति डुलिरहेको बेलामा उनीहरूले शम्भु र मनिषलाई भेटेका हुन्।

किन ठोक्किएको भन्ने विषयमा उनीहरूबीच कुटाकुट भएको डिएसपी थेबेले बताए। जसपछि चार जनामध्ये एक जनाले चक्कु निकालेर दुबै जनामाथि प्रहार गरेका हुन्। चक्कुले शम्भुको छाती र पेटमा चोट लागेको थियो। मनिषको भने हातमा लागेको हो। झडपबारे प्रहरीलाई खबर भएपछि डिएसपी थेबेसहितको टोली घटनास्थलमा खटिएको थियो।

उक्त टोलीले सडकमा लडिरहेका शम्भु र मनिषलाई गाडीमा हालेर केएमसी अस्पताल लगेको थियो। शम्भुको उपचारको क्रममा मृत्यु भएको थियो। त्यस्तै मनिषको भने उपचार भइरहेको छ। उनीहरू दुई पक्षबीच पहिले चिनजान पनि नभएको र कुनै रिसइबी पनि नरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार