नेकपा एसको स्थायी कमिटी बैठक : चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

२०८१ बैशाख ३१, सोमबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले ती चारवटा प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। आलोकनगरस्थित पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालसहित २७ जना नेताले सुझावसहित धारणा राखेका थिए।

अध्यक्ष नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा वेदुराम भुसालले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरे।

पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिटब्यूरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावका आधारमा त्यसलाई पूर्णता दिइने बताइएको छ।

स्थायी कमिटीका निर्णयलाई आज दिउँसो बस्ने पोलिटब्यूरो बैठकमा थप छलफल गरिनेछ । उक्त बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने कार्यसूची अनुमोदन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार