भरतपुर भ्रमण वर्षका सन्दर्भमा दाहाल र न्यौपानेबिच छलफल

२०८१ जेष्ठ ३, बिहीबार

भरतपुर : भरतपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर भ्रमण वर्ष–२०२४ मनाइरहेको छ । यसै सन्दर्भमा मेयर रेनु दाहाल र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेबिच बाह्य पर्यटन प्रवर्द्धनका लागि छलफल भएको छ ।

भरतपुर महानगरले भरतपुर भ्रमण वर्षमा आन्तरिक तथा बाह्य गरी पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र विदेशमा रहेका कूटनीतिक नियोग, विभिन्न क्षेत्रमा क्रियाशील नेपाली सङ्घसंस्था, व्यवसायी र पत्रकारमार्फत पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरिएको मेयर दाहालले बताइन् ।

छलफलका क्रममा नेजाका निवर्तमान अध्यक्ष न्यौपानेले अमेरिकामा करिब पाँच लाख नेपाली रहेको र टेक्सास राज्यमा मात्रै एक लाख नेपाली रहेको बताउँदै १६ वर्षदेखि व्यवसायमा आबद्ध रहेका चितवनका टीका पौडेल युलेस सिटी काउन्सिल मेम्बर रहेको उल्लेख गरे । नेपालीहरु अमेरिकाको उच्च पदमा रही नेपाली समाज र नेपालको हितमा आवाज उठाउँदै आएको उनले स्मरण गराए ।

टेक्सासमा प्रतिनिधिमूलक अनलाइन पत्रिका हिमालय खबर सञ्चालन गर्दै आएका प्रबन्ध सम्पादक न्यौपानेले विभिन्न पेसा, व्यवसाय वा अध्ययनका क्रममा विदेशमा रहेका नेपालीले आफ्नो देश चिनाउने र पर्यटन प्रवर्द्धनका निम्ति महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

विभिन्न व्यवसायमा आबद्ध न्यौपानेले पर्यटन प्रवर्द्धनका लागि आफूले सकेको योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सर्वप्रथम नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने कुरा राज्यस्तरबाटै व्यापक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

मेयर दाहालले पत्रकार न्यौपानेलाई भ्रमण वर्षको लोगो लगाइदिँदै भरतपुर भ्रमण वर्ष–२०२४ को व्यापक प्रचारप्रसार गरिदिन आह्वान गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार