काठमाडौँ : रास्वपा सांसद शिशिर खनालले कांग्रेसले ‘इगो’ लिँदा संसदमा बिहीबार धकेलाधकेलको अवस्था सिर्जना भएको बताएका छन्। लामो समयदेखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस् भन्ने आफूहरुले चाहे पनि कांग्रेसको कारण हिजो त्यो सम्भव नभएको उनले बताएका छन्।
गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि कांग्रेसले लगाएको आरोप बारेमा कम्तीमा पनि सभापति लामिछानेले संसद्मा बोल्न पाउन पर्छ भन्ने आफ्नो पार्टीको न्यूनतम अडान भएकोमा पनि उनले जोड दिएका छन्।
‘त्यसबाट आवश्यक परे समितिसम्मको बाटोमा जान सकिन्छ भन्ने हाम्रो भनाई थियो,’ हिजो हुनै लागेको सहमति भाँडिएको सम्बन्धमा खनालले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो बिहान काँग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एकजना बसेर एउटा ‘मोटो समझदारी’ बनेको थियो। यही आधारमा अगाडि बढ्न सकेको भए सायद संसदमा हिजो देखिएको ‘धकाला(धकाल’ को परिस्थितिमा हामी पुग्दैन थियौँ। तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि कांग्रेस ‘इगो’ को बाटोमा गयो।’ खनालले आफूहरु सहमत भएको तर कांग्रेसले अस्वीकार गरेको तीन बुँदासमेत सार्वजनिक गरेका छन्।
सहकारी संस्थाहरूमा देखिएको संकट समाधानार्थ संसदीय छानबिन समिति बनाउने, विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदले उठाएका सहकारी बचतकर्ताको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने र अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारेसमेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने बुँदामा आफूहरु सहमत भएपनि कांग्रेस सहमत नहुँदा हिजो संसदमा धकेलाधकेलको अवस्था आएको उनको भनाई छ।





