हेटौंडा : मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो ।
उनीसहित ३ जना बिहीवार निकुञ्जमा भैँसी चराउन गएको अवस्थामा हात्तीले आक्रमण गर्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
राईसँगै गोठालो गएका दुई जना भाग्न सफल भएका थिए । भागेर ज्यान बचाउन सफल भएका दुई जनाले निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट सुनाचुरी मकवानपुरमा जानकारी गराएका थिए ।
सेनाले शुक्रबार प्रहरीलाई जानकारी दिएको हो । हात्तीको आक्रमणबाट मकवानपुरमा चालु आर्थिक वर्षको ११ महिनामा ४ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा ५ जना घाइते भएको प्रहरीले जनाएको छ । हात्तीले ११ महिनामा मकवानपुरमा नौ वटा घर गोठमा क्षति पुर्याएको छ ।





