कांग्रेसले समिति होइन, सरकार माग गरेको होः महेश बर्तौला

२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ : नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन्। उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने उल्लेख गरे।

‘नेपाली कांग्रेसको यस प्रकारको दादागिरी, उद्दण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन। यदि कांग्रेस संवादको माध्यमबाट अगाडी बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ। कार्यदलको बैठक बस्न सक्छ। कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहन्छौँ। सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडी जान चाहन्छौँ।’ उनले भने। उनले कांग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको जिकिर गरे। उनले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पारे।

‘तपाईँहरूलाई चाहिएको छ रवि लामिछानेको नाम। नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने। सरकारलाई ढाल्ने। अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली कांग्रेसको छ। नेपाली कांग्रेसले समिति माग गरेको होइन। समितिको नामबाट सरकार माग गरेको हो। जुन कुरा असम्भव छ। नेपाली कांग्रेसको त्यो बदनियत हो भन्ने कुरा, पूर्वाग्रहप्रेरित छ भन्ने कुरा उसको समग्र चरित्र र व्यवहारबाट उदाङ्गो भएको छ।’ उनले संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार