कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री

२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन्। सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन्।

प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसद्मा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै उनले संसद्को विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको जिकिर गरे।

गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए। संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने उनको भनाइ थियो। उनले सरकारले सहकारी पीडितहरूको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाए।

प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने उनको जिकिर थियो। गृहमन्त्री लामिछानेले आफूले संसद्मा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार