काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मूल्य कांग्रेसले चुकाउनुपर्ने कि अरू कसैले चुकाउनुपर्ने भोलिका दिनहरूमा देखिने बताएका छन्।
सोमबार संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसद खतिवडाले मार्सल लगाएर विश्वासको मत लिनेले कि संसदीय मान्यताअनुसार जानुपर्ने माग गर्नेले मूल्य चुकाउनुपर्ने हो त्यो भोलिका दिनहरूमा देखिने बताएका हुन्। संसदबाट विश्वासको मत लिने क्रममा वेल घेरेर कांग्रेसले गलत गरेको र यसको मूल्य चर्को पर्ने प्रधानमन्त्रीले बताएका थिए। ‘प्रधानमन्त्रीको भनाइप्रति यति छ। त्यो मूल्य कसले चुकाउनुपर्ने हो, भोलि हेर्दै जाऔंला,’ जवाफमा कांग्रेस सांसद खतिवडाले भने।
खतिवडाले आइतबार गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्ति सुन्दा उनी पद गरिमा सुहाउँदो व्यक्ति नभएको पुष्टि भएको बताए।’भोलि भविष्यका सन्तान र सन्ततीले कस्ता मान्छेलाई तिमिहरूले पदमा पुर्याएको भनेर सोध्दा के जवाफ दिने भन्ने चिन्ता भएको छ,’ उनले भने।





