पालिका अध्यक्ष जमानत बसेर चेक दिएपछि विराट नर्सिङले पाँच दिनपछि दियो शव

२०८१ जेष्ठ ८, मंगलवार

विराटनगर : विराटनगरस्थित विराट नर्सिङ होमले पाँच दिनपछि सप्तरीको बलानबिहुल गाउँपालिका–२ की श्यामकुमारी रामको शव परिवारलाई दिएको छ।

उपचारमा लागेको खर्चको बक्यौता जेठ १८ गतेभित्र दिने भन्दै पालिका अध्यक्ष खेमचन्द्र यादवले कागज गर्दै चेक दिएपछि मात्र अस्पतालले पाँच दिनपछि शव दिएको हो। उपचारमा खर्च भएको मध्ये आठ लाख ९५ हजार  रुपैयाँ बुझाउन नसक्दा अस्पतालले पाँच दिनसम्म रामको शव मृतक परिवारलाई दिन मानेको थिएन। पालिका अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीयको टोली सोमबार साँझ अस्पताल पुगेको थिए। बक्यौता पैसा नबुझाएसम्म शव नदिने अस्पताल प्रसासनको भनाइपछि पालिका अध्यक्ष यादवसहितको समूह शव माग्दै ७ घण्टा  नर्सिङ होम अगाडि धर्नामा बसेका थिए।

मंगलबार बिहान पालिका अध्यक्ष यादवले कागज गर्दे जेठ १८ गतेभित्र बक्यौता तिर्ने गरी चेक दिएको र अस्पतालले शव दिएको हो। उपचारबापतको कुल साढे १२ लाख रुपैयाँमध्ये मृतक परिवारले ५ लाख २४ हजार बुझाइसकेका छन्। त्यसमध्ये अस्पतालले ३ लाख ७६ हजार छुट दिएको छ। बाँकी ३ लाख ५० हजारको चेक जेठ १८ गते भुक्तानी हुने गरी पालिका अध्यक्ष खेमचन्द्र यादवले जमानी कागज गरेपछि मंगलबार बिहान श्यामाकुमारीको शव दिइएको हो।

अस्पतालले बिहान शव दिएपछि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टम गराएर मंगलबार साँझ अन्त्येष्टि गरिएको  मृतकका श्रीमानले बताए। उनले भने, ‘बल्ल आज दाह संस्कार गरियो।’ ५ चैतमा स १ त ३२८ नम्बरको ट्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका–१ मा ठक्कर दिएपछि श्यामकुमारी घाइते भएकी थिइन्।

उनलाई सुरुमा बोदेबरसाइनमा रहेको सत्रुधन अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि सोही दिन विराट नर्सिङ होममा लगिएको थियो। तर, उपचारको क्रममा गत बिहीबार निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार