सिरोहिया पक्राउ सरकारको अधिनायकवादी कार्यशैलीको परिणाम हो: जनमोर्चा

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : राष्ट्रिय जनमोर्चा पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोध जनाएको छ। बुधबार विज्ञप्ति जारी गरी जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सिरोहियालाई पक्राउ गर्नुलाई सरकारको ‘अधिनायकवादी कार्यशैलीको परिणाम’ भनेका छन्।

‘‍कान्तिपुर प्रकाशन ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाको गिरफ्तारीको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो विरोधमा समाचार सम्प्रेषण गर्ने संचारगृहलाई निशाना बनाउनु सरकारको अधिनायकवादी कार्यशैलीको परिणाम हो।’

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ कार्यकक्षबाटै पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित कार्यालयमा पुगेको थियो।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते धनुषा प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए। सिरोहियालाई मंगलबार नै धनुषा पुर्‍याइएको थियो। बुधबार म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार