नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ । बचतकर्ताको रु १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलानुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपिकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
“सेयर सदस्य नरहेका व्यक्तिलाई नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ । यहाँ कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको छ”, उनले भने । बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पूर्जी जारी गरे पनि उनी अझै फरार छन् । प्रहरीका अनुसार संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरीत व्यवस्थापक पाण्डे आफैँले ऋण उपसमितिको ‘माइन्यूट’ उठाएर बिनाधितो आफू निकटलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ ।
कर्जा समितिका संयोजक श्याम भुसालले आफूसम्बद्ध समितिका तीन जनालाई थाहै नदिइ पाण्डेले एक सय ४० जनालाई ऋण दिएको बताए । “ऋण दिने नक्कली ‘माइन्यूट’ खडा गरेर एक सय ४० जनालाई पटकपटक गरेर पाण्डेले एक करोड ८५ लाख कर्जा दिएका छन्”, उनले भने । विसं २०६६ मा स्थापना भएको यो सहकारीमा दुई हजार तीन सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।





