काठमाडौं : काठमाडौंको स्वयम्भुमा आज बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
स्वयम्भुको भगवानपाउमा टिपरले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिकाका ३० वर्षीय विकास नेपाली रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो ।
डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको बा ५ ख १४७१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज बिहान ५ बजे ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





