नाम नलेखे पनि गृहमन्त्रीमाथि छानबिन हुन्छ, दोषी देखिए कारबाही हुन्छ : रमेश लेखक

२०८१ जेष्ठ १५, मंगलवार

काठमाडाैं : नेपाली कांग्रेसले गोर्खा मिडिया नेटवर्क प्रालिले सहकारी ठगीमार्फत नागरिकको बचत अपचलन गरेको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने जनाएको छ ।

प्रतिनिधिसभाको बैठकपछि मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति गठन गर्दा ९ वटा सहकारीको रकम अपचलन भएकोमा छुट्टै व्याख्या गरेर छानबिन हुने बताएका हुन् । सहकारीको रकम दुरुपयोग वा अपलचन भएकोमा त्रुटि देखाएर कारबाही सिफारिस गर्ने उनको भनाइ छ ।

‘नौवटा सहकारीमध्येबाट पनि रकम अपचलन भएर गोर्खा मिडियामा गएको छ । विभिन्न सहकारीबाट गोर्खामा गएको रकमको स्थिति के छ ? कुन सहकारीबाट कति रकम गयो ? रकम प्रवाह भएको अवस्था कस्तो छ ? गैरकानूनी रुपमा गएको हो कि होइन ? समितिले यसको अध्ययन गर्छ,’ लेखकले भने, ‘यस्तो अनुचित कार्यमा कोही संलग्न भए अध्ययन छानबिन गर्ने, को मानिस संलग्न छन् अध्ययन गर्ने र गएको रकमको फिर्ताको बारेमा गैरकानूनी ढंगमा गएको भए कारबाहीको सिफारिस गर्नेछ । संलग्न देखिएकालाई कारबाही गर्नेगरी समिति बन्ने छ । यसमा सबै दलको सहमति छ ।’ समिति गठन हुँदैहुँदैन भन्ने स्थितिबाट सत्ता पक्षलाई यहाँसम्म ल्याएको भन्दै लेखकले जो संलग्न देखिएपनि कारबाहीको सिफारिस गर्ने बताए ।

‘हामीले शुरूदेखि नै समिति गठनको माग गर्यौं । तर समिति बनाउनै हुँदैन भन्नेमा सत्तापक्ष थियो । हामीले गृहमन्त्रीको संलग्नता देखिन्छ भन्दै आयौं । अनुचित कार्यमा कोही संलग्न भएको भए अशुल र दोषी देखिए कारबाही सिफारिस गर्ने भनिएपछि व्यक्ति विशेषको नाम लेखिरहन परेन,’ लेखकले भने, ‘गृहमन्त्री संलग्न देखिए उहाँमाथि कारबाही हुन्छ । अरु देखिए अरुमाथि पनि कारवाही हुनेछ । जो संलग्न देखिए उनीहरूमाथि कारबाही हुन्छ भनेपछि नाम नलेखिकन जान सकिन्छ भन्नेमा पुगेका हौं ।’ गोर्खा मिडियाको नाम लेखेपछि संस्थाका पदाधिकारी र मानिस लेखिरहन नपर्ने उनी बताउँछन् ।

‘गोर्खा मिडियाको नाम लेखिएपछि त्यो संस्थाका पदाधिकारीहरू र मानिसहरू को–को छन् प्रष्टै देखिन्छ । सहकारीबाट रकम गएको छ । क–कसले लगेका छन्, कानूनबमोजिम कारवाही हुन्छ,’ उनले भने, ‘यसैले व्यक्ति विशेष र राजनीतिज्ञको नाम लेखिरहने परेन । नौ सहकारी मध्ये कहाँबाट पैसा गोर्खा मिडियामा गयो भनेर छानबिन गर्न सबै दल तयार भएका छन् । यसैले समस्या आउँदैन भन्नेमा हामी छौं ।’

सहकारी संस्थामा सेयरधनी र बचतकर्ताको रकम विभिन्न सहकारबिाट अपलचन, दुरुपयोग, अनुचित लेनदेन भएकोसम्बन्धी विभिन्न आवाज उठेकोले यसकै आधारमा समितिले छानबिन गर्ने उनी बताउँछन् । ‘सहकारी ठगीको विषय संसद, सडक, सञ्चारमाध्यमबाट पनि उठेका छन् । अवैधानिक ढंगले लेनदेन भएपछि विभिन्न निकायमा उजुरी, गुनासो, निवेदन परेका छन्,’ ‘यसैले समस्या भएकालाई अनुसूची २ मा नौवटा सहकारीको नाम उल्लेख गरेरै छानबिन गरिन लागेको हो । समितिले राम्रोसँग काम गर्न सकोस् भन्ने शुभकामना छ ।’ कांग्रेसले रकम अपचलन भएको भन्दै उठाउँदै आएको सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मीसहितको नाम उल्लेख भएपछि पीडितले न्याय पाउने बताएको छ ।

‘यो समिति बनेपछि संसदको जटिलता समाप्त भएको छ । जीवनभरको रकम डुब्ने चिन्ता छ । सहकारीको क्षेत्रमा जुन संकट देखापरेको छ । संस्थागत, वित्तीय क्षेत्रमा सुपरीवेक्षण गर्ने भन्नेमा प्रतिवेदन पेश गर्छ,’ लेखकले भने, ‘आफ्नो रकमको सुरक्षा कसरी गर्ने भन्नेमा प्रतिवेदन दिनेछ । समस्यामा परेका बचतकर्ताको रकम हिनामिना हुने चिन्ता हटाउन बचतको सुरक्षा कसरी गर्ने भन्नेमा अध्ययन गरेर सिफारिस गर्नेछ । दुरुपयोग भएकोमा छिटो बचतक फिर्ता गर्नेमा सुझाव दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार