सेयरबजारमा टिकेन बजेटको खुसी, नेप्से राताम्मे

२०८१ जेष्ठ १६, बुधबार

काठमाडौँ : सेयरबजारमा बजेटको रौनक खासै देखिएन।

बजेट आएपछिको पहिलो कारोबारको दिन बुधबार बजार खुल्नुअगाडिको (प्रिओपन सेसन) २० अंकले बढेको नेप्सेले दिनभर भने निरन्तरता पाउन सकेन।

सेयरबजारमैत्री बजेटको अपेक्षा गरेका लगानीकर्ता बजेटले लाभकरका विषयमा मौन बस्दा केही निराश देखिन पुगे। यद्यपि बजेटले पुँजीबजार सुधारका विषयमा तथा बजारलाई टेवा पुग्ने ७ वटा व्यवस्था गरेको थियो। तर सो व्यवस्थाले बजेट पछिको पहिलो कारोबारलाई दिनभर सुखद भने बनाउन सकेन।

प्रिओपन सेसनमा बढेको नेप्से कारोबार खुलेको १६ मिनेटमै ३१ अंकले घट्न पुग्यो। बजेटको मौका पारेर बजारबाट नाफा निकाल्न खोज्ने लगानीकर्ता दिनभर हावी देखिँदा नेप्से सूचकले कहिले हरियो त कहिले रातो यात्रा दिनभर गरिरह्यो।

पहिलो १६ मिनेटमा३२ घटेर पुन फर्किएको नेप्से सूचक १२ बजेर ५५ मिनेटमा २१२६ अंकमा पुगेर ओरालो लाग्यो। बजार बन्द हुँदासम्म नेप्से सूचक २३.८१ अंकले घटेर २०८९.४२ अंकमा पुगेको हो ।

बजार नखुल्दै लगानीकर्ताको माग हावी भएको बजारले अन्ततिर आइपुग्दा भने बिक्री चाप खेप्न पर्यो। समग्रमा आज ३१४ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ। बजेटको अघिल्लो दिन सोमबार ३.९३ अंकले बढेको बजारमा ३ अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। बजेटको प्रभाव बुधबारको सेयर कारोबारमा देखिएपनि सूचकलाई भने बढाउन सकेन ।

बजार खुल्दाकै बखत १७७ वटा कम्पनीको मूल्यमा वृद्धि देखिए पनि अन्ततिर आइपुग्दा मूल्य बढ्ने कम्पनी ५६ वटामा मात्रै सीमित बनेका छन्। बुधबार कारोबारमा आएका मध्ये ५६ वटाले कमाउँदा १९१ वटा कम्पनीले गुमाएका छन् ।

अस्थिर बजारमै पनि युनिलिभर, कालिञ्चोक दर्शन, माथिल्लो लोहरभ खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सर्किट लाग्न पुग्यो ।
यस्तै पोखरा फाइनान्स, सीईडीबी हाइड्रो र सर्वोत्तम सिमेन्टको सेयरमा लगानीको कर्ताका चाप बढी देखिएको छ ।

घट्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावर,बाराही हाइड्रोपावर र एनएमबी बैंक अगाडि छन् । यी तीन कम्पनीको क्रमशः ९.४१ प्रतिशत,६.६४ प्रतिशत, ६.३५ प्रतिशतले सेयर मूल्य बढेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार