पोखरा : पोखराका पर्यटन व्यवसायीको सगरमाथा आरोहणबाट फर्किने क्रममा मृत्यु भएको छ । पोखरा २६ खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा चौथो शिविर नजिकै हिउँ पहिरोमा परेर मृत्यु भएको हो ।
बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको छ । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको मेयर धनराज आचार्यले बताए ।
उनले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिखमा ६ हजार १ सय ४५ मिटर अग्लो लोवुचे पिक आरोहण गरेका थिए । चाइनिज भाषाको समेत राम्रो ज्ञान भएका बस्ताकोटी १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । बस्ताकोटीको मरेखरे घाटमा आजै दाहसंस्कार गरिएको छ ।





