यी हुन् सन्दीपले भिसा नपाउनुको कारणहरू

२०८१ जेष्ठ १८, शुक्रबार

काठमाडौं : गत जेठ ९ गते नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाका लागि भिसा दिन अस्वीकार गरेका क्रिकेटर सन्दीप लामिछानेले दोस्रोपटक आवेदन दिँदा पनि भिसा पाएनन् । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिन अस्वीकार गर्‍यो ।

उनीविरुद्ध एक किशोरीले २०७९ भदौमा जबर्जस्ती करणी आरोपमा महानगरीय गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय, जरिवाना क्षतिपूर्तिस्वरुप ५ लाख भराउने फैसला गरेको थियो । तर पुनरावेदनका क्रममा उच्च अदालत पाटनले उक्त फैसला उल्टाइदियो ।

त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनको निलम्बन फुकुवा गर्दै आईसीसी टी-२० विश्वकपमा खेलाउने तयारी गरेको थियो । तर अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उनका समर्थनले अमेरिकी दूतावासअघि प्रदर्शनको तयारी गरेका थिए, तर प्रहरीले नक्सालमै रोकेको थियो ।सन्दीपले दोस्रोपटक पनि भिसा नपाउँदा उनका समर्थकहरु असन्तुष्ट भएका छन् ।

यसकारण पाएनन् भिसा
सन्दीपविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए । आफूविरुद्ध उजुरी परेपछि करिब एक महिना उनी उतै लुकेर बसे । सन्दीप सम्पर्कमा नआएपछि नेपाल प्रहरीले २०७९ असोज १० गते नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

प्रहरीले विदेशमा रहेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीको अन्तरदेशीय संगठन इन्टरपोलको सहयोग लिने गरेको छ । यसमा नेपाल सहित १९४ देशका प्रहरी संगठन आबद्ध छन् ।

‘डिफ्युजन नोटिस’ जारी भएपछि सामाजिक सञ्जालमार्फत् सन्दीपले आफू नेपाल फर्किएर कानुनी लडाइँ लड्ने बताए । सोही वर्ष असोज २० गते उनी नेपाल फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे ।

अमेरिकाले लागुऔषध, अवैध हतियार, मानव तस्करी र महिला तथा बालबालिका सम्बन्धी अपराधलाई गम्भीर रुपमा हेर्ने भएकाले तथा सन्दीपविरुद्ध सो समयमा ‘डिफ्युजन नोटिस’ जारी भएकाले अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको बताइएको छ ।

के कारणले हुन्छ अमेरिकी भिसा अस्वीकृत?

१ अपूर्ण एवं झुटा विवरण
अमेरिकी भिसाका लागि आवेदन दिँदा फारममा त्रुटि वा विवरणमा झुटा विवरण भरिएमा भिसामा ढिलाइ वा पूर्णरुपमा अमेरिकाले भिसा नदिन सक्छ । आवेदन दिँदा अमेरिका जानुपर्ने कारण, उद्देश्य, अमेरिका बसाईमा हुने खर्च, फर्केर आउने विश्वसनीयता, व्यवसायिक प्रयोजन र आर्थिक अवस्थामा भिसा अधिकारी विश्वस्त हुन नसकेमा पनि भिसा नलाग्न सक्छ ।

२ अप्रर्याप्त कागजात
अमेरिकी भिसाका लागि दूतावासले मागेका सबै कागजातहरु पेस गर्नुपर्छ ।विश्वविद्यालय डिग्रीसहित रोजगार योग्यताको प्रमाण हुनुपर्छ । वर्तमान र अघिल्लो रोजगारदाताद्वारा दिइएको सक्कल पत्र, जसमा काम गरेको पद र परियोजनाहरुका साथै रोजगारदातासँग काम गरेको समयावधिको विस्तृत विवरण हुनुपर्छ । काम गरिरहेको हो भने तलब भुक्तानी रसिद । सिभी । रोजगार जारी रहेको पुष्टि गर्ने रोजगारदाताले दिएको पत्र । जन्म प्रमाणपत्र (२१ वर्षमुनि), विवाहदर्ता(विवाहित)लगायत सबै कागजातहरु उपलब्ध गराउनुपर्छ । अन्यथा भिसा अस्वीकृत हुन सक्छ ।

३ अपराधिक क्रियाकलापमा संलग्न रहेको
लागुऔषध, अवैध हतियार, मानव तस्करी र महिला तथा बालबालिका सम्बन्धी अपराधमा संलग्न रहेको, आरोप लागेको वा जोडिएको व्यक्तिलाई अमेरिकाले भिसा दिँदैन ।

४ द्विदेशीय सम्बन्ध
अमेरिकासँग भिसा आवेदन दिने नागरिकको देशको बलियो सम्बन्ध छ कि छैन भनेर पनि भिसा प्राप्त गर्ने/नगर्नेमा निर्धारित हुने गरेको छ । भिसा अधिकारीले अमेरिकासँग उक्त देशको बलियो सम्बन्ध छ कि छैन र उनीहरु अमेरिका भ्रमणपछि फर्किने सम्भावना छ कि छैन भन्ने मूल्यांक गर्छन् । स्थिर रोजगारी, सम्पत्तिमा स्वामित्व, पारिवारिक पृष्ठभूमि र अन्य प्रतिबद्धताहरु पनि जाँच हुने गरेका छन् ।

५ यात्राको उद्देश्य
आवेदकले अमेरिका भ्रमणको उद्देश्य, बसाइँको अवधि र आवासको व्यवस्थासहित उनीहरूको यात्रा योजनाहरूको बारेमा स्पष्ट र सुसंगत जानकारी प्रदान गर्नुपर्छ । ती विवरणमा अस्पष्टता र विसंगति भेटिएमा भिसा अस्वीकृत हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
3

ताजा समाचार