सरकारले सत्तारुढ दलहरुसंग परामर्श नगरी बजेट ल्यायो : केपी ओली

२०८१ जेष्ठ १९, शनिबार

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । शनिवार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी पनि गरे ।

‘यो बजेट एकदमै सामान्य हिसावले भन्ने हो भने दफावार हिसावले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो’ उनले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढता देखिन गएको छ ।’ बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे । अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे ।

‘हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ’ उनले भने, ‘पछि साथीहरुले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ । एउटा चाहीँ हामीमा कुनै दुविधा हुनुहँँुदैन– यस बजेटलाई हामी समर्थन गर्छौं । र पारित गर्छौं । यसको मतलव बजेटमा रहेका कुनै कमी पनि औंल्याउन हुँदैन भन्ने होइन ।’

उनले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए । अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार