काठमाडौं : स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ। दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको हात्तीसुँढेमा १२.२ मिलिमिटर वर्षा भएको छ। मकवानपुरकै रजैयामा १० मिलिमिटर वर्षा भएको छ।
बाराको कलैयामा ९.८ मिलिमिटर वर्षा भएको छ। बाराकै अमलेखगञ्जमा ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। हाल मनसुनी वायु भारतको सिक्किम आसपास आइपुगेको छ।
नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।





