काठमाडौँ : भारतको लोकसभा निर्वाचनमा प्रतिपक्षी इन्डिया गठबन्धनले सत्तारूढ एनडिए गठबन्धनलाई कडा टक्कर दिएको छ। एक्लै पूर्ण बहुमत ल्याउनेमा ढुक्क रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई चुनावी नतिजाले कडा झट्का दिएको छ।
सन् २०१९ को चुनावमा एक्लैले ३०३ सिट हात पारेको भाजपाले यसपटक २४० को हाराहारीमै चित्त बुझाउनुपर्ने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ। यसबाट सरकार गठनका लागि एक्लै बहुमत जुटाउन भाजपा असफल देखिएको छ। भारतीय लोकसभाका कुल ५४३ सिटमध्ये मंगलबार मध्यरातिसम्म सत्तारूढ एनडिएले २९१ र इन्डिया गठबन्धनले २३१ सिटमा जितेका छन् । सन् २०१९ को आम निर्वाचनमा एनडिएले ३५३ सिटमा विजय हासिल गरेको थियो।
सरकार बनाउन २७२ सदस्य चाहिने भएकाले यसपटक पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले साझेदार दलसँग मिलेर सरकार बनाउन सक्ने देखिएको छ। गठबन्धनको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने लगभग निश्चित बनेको छ। तर केही भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालअनुसार सत्तारूढ एनडिएमा सहभागी केही दलले प्रतिपक्षी इन्डिया गठबन्धनलाई सहयोग गरे मोदीले प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने अवसर गुमाउनेछन्।
विशेषगरी नितिश कुमारले नेतृत्व गरेको बिहारको जनता दल युनाइटेड (जेडियु) र आन्ध्र प्रदेशको तलेगु देशम पाटी (टिडिपी) चन्द्रबाबु नायडुले आगामी सरकार गठनमा ‘किङ्मेकर’को भूमिका खेल्न सक्ने देखिएको छ। जेडियुले १२ सिट र टिडिपीले १६ सिटमा जित निकालेका छन् । यही कारण गठबन्धनको हिसाबले बहुमतको आँकडा पार गरेर सरकार गठनको सुविधा पाउँदासमेत गठबन्धन एकतालाई अक्षुण्ण राख्न भाजपा प्रयासरत देखिन्छ।
विपक्षी इन्डिया गठबन्धन पनि यी दुई दललाई आफूतिर तानेर एनडिएलाई तेस्रो पटक सरकार बनाउनबाट रोक्न चाहन्छ। यसका लागि उनीहरूलाई विभिन्न आकर्षक प्रस्ताव गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विशेषगरी राजनीतिक पक्षधरता अदलबदल गरिरहने नितिस कुमारको यसअघिका गतिविधिका कारण पनि यस्तो संशय उत्पन्न भएको हो।





