काठमाडौँ : शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली राजनीतिज्ञहरूले विदेशबाट फर्कनेहरू आफ्नो ‘हो मा हो’ मिलाउने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लामो अभिव्यक्ति सार्वजनिक गर्दै श्रेष्ठले यस्तो आशयको अभिव्यक्ति सार्वजनिक गरेकी हुन्। श्रेष्ठले यो अभिव्यक्ति कसलाई लक्षित गरिएको हो, भनेर प्रष्ट खुलाएकी छैनन्।
यद्यपि उनको अभिव्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई लक्षित गरिएको बुझ्न सकिन्छ। केहीदिन अघि ओलीले श्रेष्ठलाई लक्षित गरी ‘नेपाल घुम्न आएका बेला फ्वाट्ट सांसद्देखि मन्त्री बनेको’ भन्ने अभिव्यक्ति बाहिरिएको थियो।
‘जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ,’ शिक्षामन्त्री श्रेष्ठले लेखेकी छन्,‘यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन्।’ उनले नेपाली नेताहरूमा नेपाल फर्किएकाहरूले हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुने उल्लेख गरेकी छन्।
यस्तै कर्मचारीतन्त्रदेखि पेसाकर्मीसम्मलाई उनले मुछेकी छन्। ‘कर्मचारीतन्त्र र यहाँका पेसाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्,’ श्रेष्ठले लेखेकी छन्।
महिलालाई हेर्ने मानसिकता झनै विकराल रहेको टिप्पणी गर्दै शिक्षामन्त्री श्रेष्ठले त्यसबाट अझ बढी प्रहार हुने रहेछ भनेर लेखेकी छन्। ‘समाजको नियम’ भनेर लगाउने लुगादेखि बोल्ने कपडासम्ममा लक्ष्मणरेखा कोरेर त्यहीभित्र बसोस् भन्ने चाहना हुने भएकाले नै नेपालका छोरी विदेशबाट फर्कन नखोज्ने उनले लेखेकी छन्।
यस्तोमा उनले ‘अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन?’, ‘ श्रीमान्को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ?’ भनेर प्रश्न गरेकी छन्। ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ ?,’ शिक्षामन्त्री श्रेष्ठले उक्त अभिव्यक्तिमा प्रश्न गरेकी छन्,‘अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’ ‘हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौं’ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भड्किन पुगेको भन्दै उक्त उभिव्यक्तिमा शिक्षमन्त्री श्रेष्ठको आक्रोश देखिन्छ।
त्यसपछि ओलीलाई लक्षित गर्दै उनले अगाडि लेखेकी छन्,‘यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो। देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो।’ मन्त्री श्रेष्ठले त्यस्तो सोच जोसुकैबाट आएपनि विरुद्धमा रहन आवश्यक रहेको लेखेकी छन्।
उनले अगाडि लेखेकी छन्,‘भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो।’ त्यसले ‘नेपाल जान्छु र केहि गर्छु’ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउने उनले लेखेका छन्। ‘देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ। साँच्चै नै ब्रेन गेन हुन पुग्छ,’ उनले लेखेकी छन्।









