काठमाडौँ : काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका युवा-युवती (महिला र पुरुष)को सनाखत भएको छ। बुधबार साँझ दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक युवकको शव फेला परेको थियो।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत भेटिएका पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका- ५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल हुन्। त्यसैगरी युवती चाँगुनारायण नगरपालिका- ५ भक्तपुरकी ३२ वर्षीया सविना राई हुन्।
बुधबार दिउँसो दक्षिणकाली नगरपालिका- ८ केराबारी भन्ने ठाउँको अप्ठ्यारो भिरमा महिला र पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।स्थानीयकाे सूचनापछि इलाका प्रहरी कार्यालय फर्पिङ, प्रहरी बृत्त कीर्तिपुर तथा विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरी टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएकाे अवस्थामा शव निकालेको थियो।
घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको छ। अप्ठ्यारो खोंचमा मोटरसाइकल खसेको कारण समयमै घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएकाे छ।









