काठमाडौं : झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।
न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
सर्वोच्चले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको छ । २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो । यस्तै २०७३ मंसिरमा नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत निरिक्षण, काठमाडौं विश्वविद्यालयको निरिक्षण टोलीले तोकेको काम पुरा गर्न लगाउन पनि आदेश दिएको छ ।









