काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कुनैपनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दूर दराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरूले नै कांग्रेस बचाएको टिप्पणी गरेकी छन् । ती कार्यकर्ताले अब देशमा कांग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ ।
नेता संग्रौलाले देशभरका कार्यकर्ताहरूले पद, प्रतिष्ठा भन्दा पनि बलियो कांग्रेस र एकलौटी सरकार चाहेको जिकिर गरिन् । आइतबार नेपाली कांग्रेस जाजरकोटले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा डा.संग्रौलाले प्रतिपक्षीको भूमिकामा कांग्रेसले खरो उत्रिन नसकेको भन्दै गुनासो गरिन् । चुनाव जित्नेहरूले आफूलाई सर्वेसर्वा ठान्ने र हार्नेहरूले दोषारोपण गर्ने प्रवृत्ति हाबी हुँदा कांग्रेसको भविष्य सङ्कटमा पर्ने चिन्ता थपिएको उनको भनाइ छ । उनले नेताहरूले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि बताइन् ।
‘आज चुनाव जित्ने जनप्रतिनिधिहरूले आफू पपुलर भएर र सर्वेसर्वा भएर चुनाव जितेको दाबी गर्छन् । तर पार्टीसँगको सम्बन्ध बिगारेका छन् । टिकट पाएर हार्नेहरू फलानोका कारण हारेको भनेर गीत गाइरहेका छन् । पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन,’ उनले भनिन् । उनले टिकट, पद र प्रतिष्ठा नचाहिने सच्चा कांग्रेसीहरु दूर दराजमा बसेर संगठन बनाइरहेको बताइन् ।





