मन्त्री भएको तीन दिनमै देवकोटा पदमुक्त

२०८१ जेष्ठ ३२, शुक्रबार

लेखनाथ : गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त भएका छन् । नेकपा (माओवादी) केन्द्र संसदीय दलले देवकोटालाई कारवाही गरेको पत्र शुक्रबारको प्रदेश सभाको बैठकमा सभामुख कृष्ण धितालले पढेर सुनाउनु भएपछि उनी पदमुक्त भएका हुन्।

माओवादी केन्द्रको संसदीय दलले देवकोटालाई निष्काशन गरिएको पत्र प्रदेशसभा सचिवालयमा शुक्रबार पठाएको थियो । सभामुख धितालले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजित दल त्याग गरेको सूचना प्राप्त हुन आएकाले देवकोटा पदमक्त भएको जानकारी प्रदेश सभालाई दिएका हुन् ।

सर्वाेच्च अदालतको जेठ १६ गतेको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेले मङ्गलबार देवकोटालाई मन्त्री नियुक्त गरेका थिए । संविधानको धारा १६९ को १ ग बमोजिम संसद् नरहेपछि उनी पदमुक्त भएका हुन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित उनले जेठ २८ गते माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लङ्घन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का पोलिटब्युरो सदस्यसमेत रहनुभएका देवकोटा गोरखा २ (१) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । देवकोटाले मत दिएपछि पाण्डे नेतृत्वको सरकार जोगिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिन्ह लिएर निर्वाचन लडेका र निर्वाचित भएका सांसद समेत रहेर एउटै संसदीय दल गठन हुने व्यवस्था छ । त्यहाँ सचेतकले ह्विप लगाउन सक्ने व्यवस्था छ । ऐनको दफा २८ को उपदफा ३ ले सचेतकले ह्विप लगाउँदा पालना नगरे कारबाहीका लागि सम्बन्धित दलमा सिफारिस गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार