इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल

२०८१ असार १, शनिबार

काठमाडौँ : टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । जितका लागि १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे ।

दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे । प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार